स्कूल अफ बिजनेसद्वारा रजत महोत्सवको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

Event Date: 2025-05-13


पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसले २५ औं बर्ष पूरा गरेको सन्दर्भमा बिभिन्न कार्यक्रमहरु आयोजना गरि रजत महोत्सव मनाउने क्रममा दोश्रो कार्यक्रम अन्तर्गत आज मिति २०८२ साल बैशाख ३० गते मंगलबार सरसफाई कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । सो सरसफाई कार्यक्रमको समुद्घाटन पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह प्रा. डा. अजय थापाज्यूबाट ब्यानरमा हस्ताक्षर पश्चात् भएको थियो । पोखरा महानगारपालिकाले फोहोर बोक्ने गाडी प्रदान गरि सहजीकरण गरेको सो सरसफाई कार्यक्रम स्कूल अफ बिजनेस प्राङ्गणबाट विश्वविद्यालय परिसर हुदै फेवाताल, लेक साईड सम्मका विभिन्न स्थानहरुमा आयोेजना गरिएको थियो । कार्यक्रमको उद्घाटन सँगै विश्वविद्यालय प्राङ्गण लगायत लेकसाइड, बाराही चोकमा आयोजना गरिएको Flash Mob अन्तर्गत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले समेत विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गर्नुभएको थियो । स्कूल अफ बिजनेसका निर्देशक सह प्राध्यापक डा. श्रृजन ज्ञवालीज्यूबाट कुचो लगाई सरसफाई शुरुवात गरिएको सो कार्यक्रममा  स्कूल अफ विजनेसमा कार्यरत पदाधिकारी, शिक्षक, कर्मचारी एवं अध्ययनरत विद्यार्थीहरु गरि २५० जना भन्दा बढीको सहभागीता रहेको थियो । विश्वविद्यालय प्राङ्गण सरसफाई पश्चात् विश्वविद्यालयका बसहरुबाट सहभागीहरुलाई पोखरा स्थित लेकसाईड लगेर सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो । स्कूलको रजत जयन्तीको बिभिन्न कार्यक्रमहरु मध्ये संस्थाको सामाजिक उत्तरदायित्वसँग जोडिएको उक्त कार्यक्रम बिहान १०ः३० बजेदेखि दिउसो ३ः३० बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा ट्राफिक ब्यवस्थापन एवं सुरक्षा सम्बन्धि समन्वय जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको थियो । सो सरसफाई कार्यक्रमको संयोजकत्व उप–प्राध्यापक श्री सन्तोष कुमार गुरुङ्गले गर्नुभएको थियो । मिति २०८१ साल चैत्र २२ गते स्कूल अफ विजनेसले रजत जयन्तीको बिभिन्न कार्यक्रमहरु मध्येको प्रथम दिवसीय कार्यक्रम अन्तर्गत रजत महोत्सव समुद्घाटन समारोह, पूर्व विद्यार्थी भेला एवं Management Education in Nepal: Changing Roles of Business School शिर्षकमा प्राज्ञिक, उद्यम,व्यवसाय, नीति निर्माण र बैंकिङ्ग क्षेत्रका विज्ञहरु एवं पूर्व विद्यार्थीहरुको समुपस्थितिमा परिसंवाद (Panel Discussion) कार्यक्रम सम्पन्न गरेकोे थियो ।